शिक्षामन्त्री पौडेलले भने,‘बढी शुल्क लिनेमाथि कारबाही हुन्छ’

302

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)को अनुगमनका लागि पुगेका छन् । बिहीबार बिहान भक्तपुरको दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका थिए ।

त्यसक्रममा शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका थिए । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा सोधपुछ गएका थिए ।

प्रधानाध्यापक श्रेष्ठले आफूहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिएको मन्त्रीसमक्ष दाबी गरे ।

“विद्यार्थीको कम्प्लेन चाहिँ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी भयो भन्ने गुनासो सार्वजनिक रुपमा र मन्त्रालयमा पनि आएको छ । तोकिएको भन्दा बढी लिएको भन्ने आएकाले त्यसो भएको हो कि होइन ? तोकिएको भन्दा बढी नलिने प्रष्ट रुपमा ऐनमा व्यवस्था छ,” मन्त्री पौडेलले श्रेष्ठसँग भने ।

त्यसक्रममा श्रेष्ठले आफूहरुले बढी पैसा नलिएको र चिकित्सा शिक्षा आयोगका कारण समस्या आएको दाबी गरे ।

“आयोगबाटै समस्या छ । ट्युसन फीभित्रै परीक्षा शुल्क पर्छ भनेर पत्र आयोगले लेखेपछि समस्या भएको हो,” उनले भने ।

तोकिएको शीर्षकभन्दा बढी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही गर्ने अधिकार गृह मन्त्रालयललाई रहेकाले वार्ताबाट समस्या समाधान गर्न मन्त्री पौडेलले सुझाव दिए ।

मन्त्री पौडेलले दुवै पक्षलाई फीसम्बन्धी कागजात अध्ययन गरी भोलि बिहान १० बजेसम्म मन्त्रालयलाई रिपोर्ट बुझाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले भने,“हामीले बढी शुल्क लिएको प्रमाण भेटायौँ भने हामी ऐनअनुसार कारबाही गर्छौँ ।”

केएमसीले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीहरुले बुधबारदेखि प्रदर्शन थालेका छन् । अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीलगायत विद्यार्थी र अभिभावकले प्रदर्शन गरिरहेका छन् ।

उता गृह मन्त्रालयले अतिरिक्त शुल्क माग्ने कलेजलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...