एमसीसीबारे सत्तारुढ पाँच दलको साझा धारणा बन्छ : मन्त्री श्रेष्ठ

249

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सत्तारुढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् ।

गृह जिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए । एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ थियो ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए । देशभित्र रोजगारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रात्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनले बताए ।

वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको बताउँदै उनले वैदेशिक रोजगारी नीति तथा कार्ययोजना पुनरावलोकन गर्न लागिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...