कांग्रेस पदाधिकारीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा तरंग पैदा भयो : जीवन परियार

348

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको भन्दै पुस्तान्तरणको युग सुरु भएको दाबी गरेका हुन् ।

उनले भने,“हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको छ । पदाधिकारीमा पनि आएको छ । केन्द्रीय सदस्यहरुमा पनि युवाहरु आउनुभएको छ । धेरै नयाँ अनुहार आएका छन् । अहिले पार्टीमा पुस्तान्तरणको युग सुरु भएको छ ।”

पार्टीको विधानको संरचना अनुसार नै ल्याउनैपर्ने नेताहरुलाई सभापति देउवाले केन्द्रीय कमिटीमा ल्याउने पनि उनले बताए ।

“सभापति देउवाले पार्टीका शीर्ष नेताहरु, जसले निर्वाचनमा भाग लिनुभएको छैन, कतिपय भाग लिएर पराजित हुनुभएको छ, उहाँहरुलाई उचित स्थान दिनु हुनेछ भन्ने विश्वास लिएको छु । अहिले पार्टीभित्र ठुलो समस्या छैन,” उनले भने ।

उनले अहिले १४औँ महाधिवेशनमा पदाधिकारीमा युवाहरुको उपस्थिति देखेर अन्य पार्टीमा पनि तरंग पैदा भएको बताए । परियारले पार्टीको सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै आफूहरु अघि बढिरहेको जिकिर गरे ।

परियारले आफू पार्टीको सहमहामन्त्री भैसकेपछि आफूले गर्नुपर्ने दायित्व र जिम्मेवारी पूरा गर्नको लागि केही एजेन्डा अघि सारेको जानकारी दिए ।

उनले कांग्रेसको इतिहासमा धेरै लामो समयपछि पार्टीको पदाधिकारी तहमा सहमहामन्त्री पदमा आफूलाई निर्वाचित हुने अवसर प्राप्त भएको भन्दै सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...