भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

279

काठमाडौँ । नेकपा (एमाले)का निवर्तमान उपाध्यक्ष डा.भीम रावललाई केन्द्रीय सल्लाहकार परिषद्‍मा सदस्यको जिम्मेवारी दिइएको छ ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा.रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा.रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा.रावलको परामर्शबमोजिम हुने स्पष्ट गरे ।

पार्टीको गत मंसिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहोरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ ।

अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा.रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...