प्रदेश २ को प्रदेशसभा आजदेखि सुरु, नामाकरण र स्थायी राजधानीको विषयमा छलफल हुने

331

काठमाडौँ । प्रदेश २ को प्रदेशसभाको बैठक लामो समयपछि आज बस्दै छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले मंसिर ८ गते बिहान ११ बजेका लागि आठौँ अधिवेशन अह्वान गरेका थिए ।

आजको बैठकमा अधिवेशन आह्वान र सातौँ अधिवेशन अन्त्यसम्बन्धी प्रदेश प्रमुखले पठाएको पत्र सभामुख सरोजकुमार यादवले पढेर सुनाउने छन् । त्यसपछि विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् हेरफेर तथा पुर्नगठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

आठौँ अधिवेशन सुरु भएको अवसरमा दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनकाअनुसार प्रदेशको नामाकरण र प्रदेशको राजधानी तोक्नेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको छ ।

यस्तै, सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय र प्राविधिक विश्वविद्यालय अध्यादेश सामाजिक विकासमन्त्री नवलकिसोर साहले पेस गर्नेछन् ।

दलहरुबीच सहमति नजुट्दा नामाकरण र राजधानी तोक्ने सरकारको प्रयास प्रदेशसभामै असफल भइसकेको छ । जनकपुरधामलाई राजधानी तोक्ने विषयमा सहमति जुट्दा पनि नामाकरण विषयमा विवाद अहिले पनि कायमै छ ।

प्रमुख सत्तारुढ जसपा र प्रतिपक्षी लोसपा मधेस प्रदेश नामाकरण गर्नुपर्ने पक्षमा उभिएका छन् । तर, सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मधेस प्रदेश स्वीकार गर्न तयार छैन ।

Share This:
सम्बन्धित खबर
Loading...