काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
१५औँ संघीय संसद् सेवा दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संसद्को प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने र यसका लागि जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिए । चारैतिर निराशा रहेका बेला देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिइन् ।
कार्यक्रममा संसद् सेवामा वर्षभरिको कार्यसम्पादनमा अब्बल ठहरिएका उपसचिव रामकुमार पौडेललाई रु एक लाख राशीको सर्वोत्कृष्ट संघीय संसद् सेवा र शाखा अधिकृत दीपाकुमारी दुलाललाई रु ७५ हजार राशीको उत्कृष्ट संघीय संसद् सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।
त्यस्तै, वरिष्ठ प्रेस प्राविधिक राजेन्द्रप्रसाद लामिछाने र कार्यालय सहयोगी सिजन खनालललाई जनही रु ५०÷५० हजार राशीको यस वर्षको संघीय संसद् सेवा पुरस्कार प्रदान गरियो ।