संसद्लाई प्रभावकारी बनाउने निर्णायक भूमिका दलहरुकै हुन्छ : सभामुख सापकोटा
'जब संसद्मा खेल सुरु हुन्छ तब सभामुखको भूमिका देखिन्छ'
काठमाडौँ । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा सभामुखको भूमिका खेलको अम्पायर जस्तो भएको बताएका छन् । सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताए ।
उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसद्मा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए ।
“मुख्यतः यो सदन भनेपछि पार्टीहरुकै भूमिका निर्णायक हुन्छ । सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायरजस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ । हामीले गर्नुपर्ने तयारी गरेका छौँ । संविधानले, नियमले, कानुनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरु भोलि नै हुन्छ । अरु त क्रमशः छलफल गर्दै समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो,” उनले भने ।
सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेन्डा रहेको उल्लेख गरे ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जबाफ दिँदै सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत नभएको टिप्पणी गरे । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको बताए ।
भोलिदेखि संसद् अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वर पुगेर सचिवालयको तयारीको अवलोकन गरेका हुन् । संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।