काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका बैठकमा आसन्न १४औँ महाधिवेशनमा तीन नेताले महामन्त्री पदमा आकांक्षा व्यक्त गरेका छन् ।
बुढानिलकण्ठमा सभापति देउवाले बोलाएको आफूनिकट नेताहरुसँगको बैठकमा वर्तमान सहमहामन्त्री डा.प्रकाशशरण महत, गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाण र नेता एनपी साउदले महामन्त्रीको दाबी गरेको एक नेताले जानकारी दिए ।
देउवाले कुन पदमा उठ्न चाहनुहुन्छ भनेर सोध्दा उनीहरुले महामन्त्रीमा दाबी गरेका हुन् । महत र साउद भने सरकारी भूमिकामा छैनन् । तीनै जना देउवाका विश्वासपात्र मानिन्छन् ।
त्यस्तै, सहमहामन्त्रीमा डा.डिला संग्रौला, मीन विश्वकर्मा, मोहन बस्नेतलगायत नेताहरुले दाबी गरेका छन् ।
संस्थापनइतर समूहबाट महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.मिनेन्द्र रिजाल र प्रदीप पौडेलसहितले दाबी गरिरहेका छन् ।