काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकलगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताएका छन् ।
मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक सम्बद्ध संघ–संस्थाका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताए ।
मन्त्री श्रेष्ठले असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकको जीवनयापनलाई सहज बनाउन सहयोग गर्ने उनको भनाइ छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गरे । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले चलचित्रमा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रुपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकै पटक नपाउने र बचत पनि कम हुने बताए ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना भाइरस महामारीका कारण चलचित्र निर्माण ठप्प भएसँगै प्राविधिकहरु बेरोजगार बनेको बनाए । कलाकार र प्राविधिक सम्बद्ध संघ–संस्थाका पदाधिकारीहरुले नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।