काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो भए मात्रै देश सम्वृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।
बिहीबार नेपाली कांग्रेसको प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आन्तरिक निर्वाचनमा हुने हारजितलाई लोकतान्त्रिक प्रतिस्पर्धाका रुपमा लिन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
“हाम्रो आन्तरिक चुनावमा हुने हारजित एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो,” देउवाले भने,“तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रतिस्पर्धाका रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर नागरिकको मन जित्ने राणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे ।
“केही महिनापछि स्थानीय तह र एक वर्षपछि संघ र प्रदेशको निर्वाचनमा जानेछौँ,” उनले भने,“अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ हुनुपर्दछ ।”