श्रममन्त्री श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूतको शिष्टाचार भेट

331

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको छ ।

सो अवसरमा श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिसा आवेदनका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेकोले नेपालबाटै हुने गरी सहजिकरणको लागि समन्वय गर्न आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको चर्चा गर्दै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताए । नेपालले द्विपक्षीय श्रम सम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गर्दै मन्त्री श्रेष्ठले प्रस्तावित मस्यौदाप्रति आएको सकारात्मक प्रतिकृयाका लागि धन्यवाद दिए।

पछिल्लो पाँच बर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या ७ हजार ६ सय १८ जना रहेको छ । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालको तर्फबाट जर्मनीको बर्लिन र रोमानियाको तर्फबाट भारतको नयाँदिल्लीमा रहेको दूतावासमार्फत कूटनीतिक सम्बन्ध कार्यान्वयन भइरहेको छ ।

युरोपेली मुलुक रोमानियामा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले नेपालीका लागि उपयुक्त गन्तव्य हुनसक्ने वैदेशिक रोजगार सम्बन्धि विज्ञहरुको भनाइ छ । राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताए । नवनियुक्त राजदूत डेनियला राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन नयाँदिल्लीबाट काठमाडौँ आएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...