एमाले महाधिवेशन : तयारीको ७५ प्रतिशत काम सकियो

457

काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहल बढेको छ ।

एमालेको केन्द्रीय तहका नेतादेखि जनवर्गीय संगठनका नेता चितवन आउने क्रम जारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधि आजदेखि आउने क्रम सुरु हुने छ । महाधिवेशन प्रतिनिधिका लागि सौराहामा शनिबारदेखि मात्रै बस्ने व्यवस्थापन मिलाइएको छ । महाधिवेशनको उद्घाटन समारोह हुने नारायणी नदी किनारमा मञ्चको निर्माण कार्यले तीव्र गति लिइरहेको छ ।

गैँडाको मस्कट तयार
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा अंकित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो । चितवन एकसिंगे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिने छ । मूर्ति राख्नका लागि मञ्चको पश्चिमतर्फको भागमा बेस निर्मााण गरिएको छ । यही मंसिर १० देखि १२ गतेसम्म हुन लागेको महाधिवेशनको तयारी लगभग अन्तिम चरणमा छ । उद्घाटन सत्रमा लाखौँ कार्यकर्ता सहभागी हुने भएकाले प्रदर्शनका लागि गैँडाको मस्कटसहित केही सेल्फी प्वाइन्ट निर्माण गरिएका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा चित्रकला
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ कलाकारले चित्र कोरेका छन् । होटलको २०० मिटर लामो पर्खालमा कलाकारले चित्र कोरेका हुन् ।

महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो ।

विसं. २०५५ देखि चित्रकलामा सक्रिय वर्ल्ड आर्ट लिंकका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणमा चित्र कोरिएको बताए । करिब २०० लामो पर्खालमा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीले चित्रकलामा भाग लिएको जानकारी दिए ।

कलाकारले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भू, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्र कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्रसहित पुरस्कृत गर्ने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...