प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’

211

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक ‘फुलकोर्ट’ बोलाएका छन् ।

बिहीबार दिउँसो २ बजे बस्ने गरी फुलकोट बोलाएको मुख्य रजिस्ट्रार लालबाबु कुँवरले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छ ।

यसअघि बुधबार सर्वोच्च अदालतका आन्दोलनरत १४ न्यायाधीशहरुले फुलकोर्ट बोलाउने सहमति गरेका थिए ।

बुधबार बसेको न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरुबीच सहमति भएसँगै त्यसलाई अनुमोदनका लागि फुलकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरेका थिए ।

सामूहिक छलफलमा रहेका ती न्यायाधीशका अनुसार बुधबार बसेको प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकमा नियमावलीमा राखिने विषयहरुमा सहमति जुटेको हो । जसमा इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायत विषय रहेका छन् ।

उक्त सहमतिसँगै १४ न्यायाधीशहरुले मुख्य रजिष्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका थिए । उनीहरुले मुख्य रजिष्ट्रारलाई निर्देशन दिएपछि प्रधानन्यायाधीश जबराले फुलकोर्ट आह्वान गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...