आजदेखि प्रचलनमा आयो ई–पासपोर्ट, सर्वसाधारणले कहिले पाउँछन् ?

357

काठमाडौँ । सरकारले बुधबारदेखि ई–पासपोर्ट(विद्युतीय राहदानी) जारी गर्न सुरु गरेको छ ।

बुधवार राहदानी विभाग त्रिपुरेश्वरमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो इ–पासपोर्ट हस्तान्तरण गरेका छन् ।

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई विस्थापित गर्ने गरी ई–पासपोर्ट जारी गरेको हो । ई–पासपोर्ट सर्वसाधारणका लागि भने मंसिर १५ गतेदेखि पूर्णरुपमा वितरण थालिने राहदानी विभागले जनाएको छ ।

कार्यक्रममा मन्त्री खड्काले ई–पासपोर्ट सबै जिल्ला र विभिन्न नियोगहरुबाट वितरण हुने बताए । राहदानी लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता अब हट्ने भन्दै उनले अब सबै काम अनलाइन प्रणालीबाट हुने उल्लेख गरे ।

मन्त्री खड्काले देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपाली राहदानीको सम्मान थपिने जिकिर गरे ।

त्यस्तै शताब्दी पुरुष जोशीले पासपोर्ट नागरिकको पहिचान भएको भन्दै नयाँ प्रविधिले समस्या झेल्नुनपर्ने विश्वास व्यक्त गरे ।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडेएबल पासपोर्ट (एमआरपी) लागु गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागु गरिसकेको ई–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागु गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...