बारले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

124

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले आगामी शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

बारले आगामी दिनमा पनि सर्वोच्च अदालत अगाडि जारी धर्ना तथा प्रदर्शनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यसका साथै १८ वटै उच्च अदालतमा समेत बारले विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मंसिर ३ गते शुक्रबारसम्म प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरिएको बारका महासचिव लिलामणि पौडेलले बताए । उनले मंसिर ३ गते संसदमा रहेका सबै दलको कार्यालयमा ज्ञापन पत्र बुझाइने जानकारी दिए ।

यस्तै बारले प्रधान न्यायाधीश बिना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । प्रधानन्यायाधीश जबराले अहिलेसम्म गरेका विवादित फैसला सम्बन्धी कागजपत्र संकलन गरेर अध्ययन गर्ने निर्णयसमेत बारले गरेको छ ।

बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्नेसमेत जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...