संवैधानिक आयोगका ३९ पदाधिकारीको संयुक्त वक्तव्यः बार र बेन्चबीच फाटो आउनु दुर्भाग्यपूर्ण [विज्ञप्तिसहित]

297

काठमाडौँ । विभिन्न संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोगलगायत ३९ वटा संवैधानिक आयोगले संयुक्त रुपमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नियमित रुपमा मुद्दाको सुनुवाइ हुने वातावरण सिर्जना गरी समयमै न्याय पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गरेका हुन् ।

न्याय निरुपण गर्ने देशको सर्वोच्च संस्थामा देखा परेको वर्तमान गतिरोधको समस्याको जरो पहिल्याउन, दीर्घकालीन असर पर्ने यस प्रकारका विवाद समाधानमा गम्भीर भएको र यस प्रकारका विवादले संविधान मात्र नभइ लोकतन्त्र उपर नै खतरा आउन सक्ने कुरालाई आत्मसाथ गरी हरेक समस्याको निकास संविधान र कानुनबमोजिम नै सम्भव भएको कुरालाई हृदयङ्गम गर्न विज्ञप्तिमा भनिएको छ ।

यही कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणलगायत नियमित मुद्दाको सुनुवाइ सुचारु हुन नसकेको र यसबाट सर्वसाधारणको छिटोछरितो न्याय पाउने अधिकारको उपभोगसमेत बाधा उत्पन्न भएको सन्दर्भमा संवैधानिक आयोगका पदाधिकारीको ध्यान आकृष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

“बार र बेन्चको सहकार्य, सहअस्तित्व र समन्वयमा मात्र प्रभावकारी न्यायसम्पादन हुने हुँदा त्यस विपरीत बार र बेन्चबीच फाटो आउनु दुर्भाग्यपूर्ण छ,” विज्ञप्तिमा भनिएको छ,“मुलुकको वर्तमान न्यायिक परिदृष्यबाट संविधान, संविधानवाद, कानुनको शासन, नागरिकको मानवअधिकार र मौलिक हकको उपभोगमा नै बाधा अवरोध पुगेको छ । यसप्रकारको बाधा अवरोध जहाँबाट भए पनि राम्रो मान्न सकिँदैन ।”

विज्ञप्तिमा विषम् परिस्थितिमा सबै सरोकारवालाले आ–आफ्ना अडानमा लचिलो भइ न्याय र जनताका हितमा लागि आफ्नो असहमतिका कारणबाट सिर्जना भएका विवादबाट पछि हटेर वर्तमान समस्याको समाधान खोज्नु राष्ट्रिय हितमा भएको उल्लेख छ ।

संवैधानिक आयोग
Share This:
सम्बन्धित खबर
Loading...