जनगणनाका लागि उपराष्ट्रपति पुनले उपलब्ध गराए व्यक्तिगत र पारिवारिक विवरण

275

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय जनगणना २०७८ अन्तर्गत आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएका छन् ।

 उपराष्ट्रपति र उनको पारिवारिक सदस्यको विवरण संकलनका लागि बिहीबार अपरान्ह १ बजे उपराष्ट्रपति भवन, हरितगृह, लैनचौर पुगेका राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीहरुलाई उनले आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण दिएका हुन् ।

उपराष्ट्रपति पुनले व्यक्तिगत विवरण संकलनका लागि केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ गणकको रुपमा उपस्थित भएका थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, सहसचिव डा. किरण रुपाखेतीलगायत सहभागी थिए ।

गणकले सोधेका प्रश्नअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना २०७८ को सफलताको शुभकामना दिए । उनले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...