विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक ३० गते दिउँसो साढे १२ बजेका लागि बोलाइएको छ । सोही बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री राईले बताए ।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले यसअघि कात्तिक २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्री राईले २३ गते नै विश्वासको मत लिने बताएका थिए । तर, प्रदेशसभा बैठक ३० गतेसम्मका लागि स्थगित गरिएपछि सोही दिन विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।
हाल ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५० जना सदस्य छन् । प्रमुख प्रतिपक्षी दल एमालेसँग सभामुखसहित ४१ जना र राप्रपासँग एक सांसद् छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेसका २१, नेकपा (मओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १० र जनता समाजवादी पार्टी (जसपा)का ३ सांसद् छन् ।
मुख्यमन्त्री राईले गठबन्धनमा रहेको दल कांग्रेसका दुई, माओवादी र जसपाबाट एक–एक जना मन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री बनाएका छन् ।