विराटनगर कारागारभित्र दोहोरो झडप, ६ जना कैदीबन्दी घाइते

313

विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच दोहोरो झडप भएको छ । सो क्रममा ६ जना कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकिदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दीबीच मंगलबार बिहान दोहोरो झडप भएको हो ।

चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेले अनावश्यक र निर्मम यातना दिएको कैदीबन्दीको दुखेसो छ । असन्तुष्ट आन्दोलित कैदीबन्दी प्रदर्शनमा उत्रिएपछि दोहोरो झडप भएको थियो ।

झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएको कारागार प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए । अन्य घाइतेहरुमा नाइकेहरु शेखर राई, निर्मल ढकाल, विशाल मुक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता छन् । घाइते ६ जनाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

आन्दोलित कैदीबन्दीले चौकीदार गुरुङको समूहका नाइके, भाइनाइके र अन्य गरी १४ जनालाई जेलभित्रैको एक कोठामा थुनेका थिए ।

पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, किरण गुरुङ, शेखर राई, विशाल मुक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई र बविहाङ राईलाई यहाँका अन्य कैदीबन्दीहरुले एउटा कोठामा थुनिदिएका हुन् ।

उनीहरुलाई प्रहरीले कारगारबाट निकालेर सुरक्षित स्थानमा राखेको जेल प्रशासनले जनाएको छ ।

“चौकीदार गुरुङबाहेकका १४ जनालाई हामीले बाहिर निकालिसकेका छौँ । यसपछि जेलभित्रको वातावरण साम्य भएको छ,” जेलर पोखरेलले भने,“१४ जनाको हकमा भित्र बस्ने वातावरण नहुने भएपछि उनीहरलाई अन्यत्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।” १४ जनालाई कुन कारागारमा पठाउने निर्णय भने भइनसकेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...