बन्ने भयो शिक्षक अस्पताल, जग्गा खोज्न समिति गठन

266

काठमाडौँ । शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन् । समितिलाई २ महिनाभित्र उपयुक्त जग्गा खोज्न कार्यअवधि तोकिएको सचिव थपलियाले जानकारी दिए । “शिक्षक अस्पतालका लागि दुई महिनाको समयअवधि दिइएको छ,” सचिव थपलियाले भने, “उपयुक्त जग्गा व्यवस्थापन हुनेवित्तिकै काम सुरु हुन्छ ।”

समितिले देशका मुख्य सहरमा जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ । “अस्पतालका लागि कस्तो जग्गा चाहिन्छ भनेर हामीले डा.विमल चालिसेको संयोजकत्वको समिति बनाएका छौँ,” सचिव थपलियाले भने, “काठमाडौँ, चितवनलगायतका सहरमा जग्गा खोज्ने काम हुन्छ ।” शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब ३ लाख बढी शिक्षकहरु लाभाम्बित हुने भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक मार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए ।

यस्तै सोमबार मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ । कार्यालयको भवन निर्माणका लागि सुर्खेतको विरेन्द्रनगर नगरपालिका–५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ वर्गमिटर क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएको हो ।

सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरी कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यवासायीक तालिम परिषद्का सदस्य सचिव जीवनरायण काफ्लेले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...