एमसीसीलाई नआत्तिन आग्रह गरेको छु : प्रधानमन्त्री देउवा

133

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई नआत्तिन आग्रह गरेको बताएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसीकी नायब प्रमुख कार्यकारी अधिकृत एलेक्सिया लतोर्तुलाई आफूले संसद अधिवेशन अर्कै कारणले बन्द गरेको बताएको जानकारी दिए ।

यसअघि एमसीसी मुख्यालयले नेपाललाई पत्र पठाउँदै एमसीसी सम्झौता अनुमोदन नगर्दै संसद् अधिवेशन अन्त्य गरेकोमा असन्तुष्टि जनाएको थियो भने जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा एमसीसीकी डेपुटी सिइओ लतोर्तुले बेलायतमै प्रधानमन्त्री देउवालाई भेटेर त्यही विषयमा चासो राखेकी थिइन् ।

जबाफमा आफूले सत्ता साझेदार दलसँग संसदबाट एमसीसी पास गर्नेबारे सल्लाह गर्ने बताएको जानकारी देउवाले दिए ।

पत्रकारले जिज्ञासामा देउवाले भने,“सहमति गरेर हामी एमसीसी हामी पास गर्छौँ, संसद् अधिवेशन अर्कै कारणले बन्द गरेका हौँ, आत्तिन पर्दैन भनेको छु ।”

प्रधानमन्त्री देउवाले कोप–२६ सम्मेलनका क्रममा विश्वका नेताबाट राम्रो सद्भाव पाएको बताए ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २ नोभेम्बरमा साइडलाइन द्विपक्षीय भेटवार्ता भएको थियो । “पशुपति र मुक्तिनाथ दर्शनका लागि मैले उहाँलाई नेपाल बोलाएको छु । उहाँले आउँछु भन्नुभएको छ,” देउवाले भने ।

मोदी आउने यकिन मिति भने निश्चित नभएको तर परराष्ट्र मन्त्रालयले द्विपक्षीय अनुकूलताका आधारमा तय गर्ने देउवाले बताए ।

मोदीले पनि देउवालाई भारत भ्रमणको निम्तो दिएका छन् । “उहाँले पनि मलाई भारत भ्रमणको निम्तो दिनुभयो,” उनले भने । मोदीसँगको भेटमा देउवाले ग्लास्गोमा रासायनिक मलको आपूर्ति तथा दुईवटा हवाई रुटको अनुमति दिन आग्रह गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...