काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका विषयमा छलफल भएको हो ।
भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले शैक्षिक छात्रवृतिको कोटा बढाउन आग्रह गरे ।
“अष्ट्रेलिया सरकारबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको अवधिसम्म अनुदान सहयोग हुँदै आएको थियो,” उनले भने, “ पछि निरन्तरताको अभाव महसुस भएको छ । हामी १० वर्षे शिक्षा क्षेत्र विकास योजना तर्जुमाको अन्तिम चरणमा छौँ । अष्ट्रेलियन सरकारबाट पुनः सहयोगको अपेक्षा गर्दछु ।”
भेटमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् । उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
राजदूत फेलिसिटीले सन् २०२३ सम्म नेपाललाई १ मिलियन अमेरिकन डलर सहयोग गर्ने बताइन् ।
उनले नेपाली विद्यार्थीले कोभ्याक्स र एक्सट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टिनमा बस्न नपर्ने सरकारको नीति रहेको सुनाएकी थिइन् ।
भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।