जनकपुर बमकाण्ड : पूर्वराज्यमन्त्री साहलाई ११ वर्ष कैद सजाय

282

जनकपुरधाम । ९ वर्षअघि जनकपुरधाममा ५ जनाको ज्यान जाने गरी भएको बम बिस्फोटको घटनामा उच्च अदालत जनकपुरधामले पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले एक जनालाई सफाइ र साहसहित सबैको कसुर ठहर गरेपछि सफाइ पाएका विरुद्ध वादी नेपाल सरकारले पुनरावेदन र कसुर ठहर भएकाहरुले निवेदन दिएका थिए । उच्च अदालतले यसअघि १७ असोजमा ज्यान मार्ने उद्योग कसुर सदर गरेपनि सजाय घटाएर १२ वर्षको ठाउँमा ७ वर्ष निर्धारण गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा सञ्जय साहको कारणले ५ जनाको हत्या नभएको, अरु व्यक्तिको कारणबाट भएको देखिएको र त्यही प्रसंगमा जीवनाथ चौधरीको हत्या गर्न षड्यन्त्र गरेको तर हत्या नभएको ठहर गर्दै उच्च अदालतले सोबार ११ वर्ष कैदको फैसला गरेको उच्च सरकारी कार्यालय जनकपुरका प्रमुख खडानन्द गौतमले बताए ।

यो मुद्दामा २० वर्ष कैद सजायको अभियोग दाबी रहे पनि त्यो दाबी नपुगेपछि षड्यन्त्र कसुर कायम गरेर ११ वर्षको कैद सजाय तोकिएको उनले बताए । उच्च अदालतका न्यायाधीशद्वय धीरबहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई ११ वर्षको कैद सजायको फैसला गरेको हो ।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा भएको बिस्फोटमा ५ जनाको ज्यान गएको थियो । करिब ३२ जना घाइते भएका थिए ।

सो घटनामा साहलाई मुख्य योजनाकार बनाइ जिल्ला अदालतमा ज्यान मार्ने र ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता भएको थियो । दुवै मुद्दामा फैसला गर्दा जिल्ला अदालतले ज्यान मार्नेमा जन्मकैद र ज्यान मार्ने उद्योगमा १२ वर्षको कैद सजाय सुनाएको थियो ।

यसका अतिरिक्त हातहतियार तथा खरखजना र केही सार्वजनिक अपराध मुद्दामा २१ महिनाको कैद सजायसमेत भुक्तान गरिसकेका छन् ।

जिल्ला अदालतकै फैसलाअनुसार साह हाल ललितपुरको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...