प्रदेश १ र कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै

150

काठमाडौँ । प्रदेश नम्बर १ र कर्णाली प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन् ।

माओवादी केन्द्रका तर्फबाट कर्णालीमा मुख्यमन्त्री बनेका शाहीले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

शाहीको राजीनामापछि कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्दै छ । गएको वैशाख २ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति भएको थियो । त्यही सहमति अनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी छ ।

४० जना सांसद् रहेको कर्णाली प्रदेशसभा अहिले ३५ संसदीय छ । एमालेका ४ सांसद् कारबाहीमा परेपछि र माओवादी केन्द्रका एक सांसद् एमालेमा गएपछि पद रिक्त छ ।

प्रदेशसभामा बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ र कांग्रेससँग ६ सांसद् छन् । यी दुई पार्टी मिल्दा बहुमत पुग्छ । कर्णाली प्रदेशमा एकीकृत समाजवादीका ३ जना सांसद् छन् ।

यस्तै, प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा आज दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान भएको थियो ।

सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनलाई एकीकृत समाजवादीसँगै, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसद्को समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसद्को समर्थन भए पुग्छ ।

Share This:
सम्बन्धित खबर
Loading...