सुदूरपश्चिममा एमालेलाई ‘जिरो डिग्री सेल्सियस’मा झार्ने आलेको घोषणा
महेन्द्रनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा (एमाले)मा अहिले पाकेटमारहरुको बिगबिगी रहेको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सहइञ्चार्जसमेत रहेका मन्त्री आलेले बिहीबार कञ्चनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“माधव नेपालले यत्रो रगत पसिना बगाएर कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउनुभयो तर अहिले एउटा पाकेटमारको कारणले कम्युनिस्ट आन्दोलन धराशायी बन्न पुगेका छ,” उनले भने,“अहिलेको गठबन्धन कुनै हालतमा टुट्नु दिनहुन्न । केही शर्मा ओलीको पार्टीलाई सुदूरपश्चिममा जिरो डिग्री सेल्सियसमा पुर्याउनु पर्दछ ।”
मन्त्री आलेले शुक्लाफाटा आरक्ष पीडितलाई राहत दिन सरकार लागिपरेको बताएका छन् । “मैले वनमन्त्री भएको बेला १५ दिनभित्र समिति बनाएर काम गर्छु भनेको थिए । सुरेन्द्र बमलाई आरक्षण पीडित समितिको अध्यक्ष बनाएको थिए । अब १ हजार ४८० परिवारलाई छिटोभन्दा छिटो राहत पाउने गरी प्रधानमन्त्रीसँग कुरा गर्नेछु,” उनले भने,“समितिको प्रतिवेदन आएको छ । अब यसलाई कार्यान्वयन गर्ने गरी काम अगाडि बढ्ने छ ।”