काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै कायम राखिने बताएका छन् ।
धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरु पार्टीसँग तालमेल गरिने बताए ।
उनले पार्टीहरुसँग चुनावी सहकार्य हुने पनि बताए । तर, पार्टीले तत्काल कसैसँग एकता भने नगर्ने अध्यक्ष नेपालको भनाइ थियो ।
उनले सुदूरपश्चिममा एकीकृत समाजवादी ठुलो दल बनाउन सफल भएको पनि बताए । जनताले आफूहरुको पार्टीलाई माया गरेको पनि उनको भनाइ थियो ।
फरक प्रसंगमा नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताए
आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, “हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।”
केही दिनअघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ ।