ऐन कुरान होइन, समयानुकूल परिमार्जन गर्न सकिन्छ : खेलकुदमन्त्री गहतराज

98

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन् । राखेपका अध्यक्षसमेत रहेका मन्त्री गहतराजलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बीच राखेपका उपाध्यक्ष शिव कोइरालासहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन् ।

स्वागत समारोहमा बोल्दै मन्त्री गहतराजले खेलकुद क्षेत्रको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनीति गर्न नहुने बताउँदै मन्त्री गहतराजले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे । “यो राजनिति गर्ने समय होइन,” गहतराजले भने, “खेलकुदलाई राजनीतिबाट मुक्त बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।”

खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री गहतराजले खेल क्षेत्रको विकासका लागि ऐन बाधक नहुने दाबी समेत गरे । “ऐन कुरान, बाइबल होइन, यसलाई परिमार्जन गर्न सकिन्छ” मन्त्री गहतराजले अगाडि भने, “खेलकुद क्षेत्रको विकासका लागि ऐनलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।”

ऐनलाई बाघको संज्ञा दिँदै मन्त्री गहतराजले भने, “बाघ, भालु वा हात्तिसँग सँगै सुत्न त सकिँदैन, तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न भने सकिन्छ ।” गहतराजले लामो समयपछि आएको खेलकुद ऐनमा केही अपूर्णताहरु देखिएपनि त्यसलाई संशोधन गर्दै लैजान सकिने बताए ।

साथै नवौँ खेलकुद प्रतियोगितालाई समयममै सञ्चालन गर्न आवश्यक तयारी सुरु गरिएको, खेलकुद विश्वविद्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र खेल क्षेत्रको विकासका लागि नयाँ तथा पृथक योजनाको खाका कोर्ने काम सुरु गरिएको उनको भनाइ थियो ।

खेल क्षेत्रमा लामो समयदेखि विज्ञता हासिल गरेका खेलाडीहरु नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै गहतराजले खेलाडीहरुबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयमा लैजान मन्त्रालय प्रतिबद्ध रहेको समेत उल्लेख गरे । खेल गतिविधि सञ्चालनमा रकम अभाव हुन नदिने बताउँदै मन्त्री गहतराजले भने, “तपाईंहरु योजना ल्याउनुहोस्, स्रोतको व्यवस्थापन राज्यले गर्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...