अग्रज खेलाडीको गुनासो सुनेपछि खेलकुदमन्त्री गहतराज बने भावुक

77

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ मंगलबार भावुक भएका छन् । मन्त्री नियुक्त भएपछि आफूलाई भेट्न पहिलोपटक कार्यालय पुगेका अग्रज खेलाडीहरुसँगको छलफलका क्रममा मन्त्री गहतराज भावुक भएका हुन् ।

राष्ट्रका गहनाका रुपमा हेरिने खेलाडीहरुलाई राज्यले उपेक्षा गरेको भन्दै अग्रज खेलाडीहरुले गुनासो गरिरहँदा मन्त्री गहतराज भावुक देखिए । सिंहदरबारस्थित कार्यालयमा मन्त्रीलाई भेट्न पुगेका अग्रज खेलाडीहरु बैकुण्ठ मानन्धर, हरि रोका, दीपक विष्ठ, संगिना वैद्यलगायतले खेलाडीहरुको मनोबल बढ्ने गरी सेवा सुविधाको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडीहरु अझैं पनि न्यून सेवा सुविधामै चित्त बुझाउनुपर्ने अवस्थामा रहेको भन्दै उनीहरुले गुनासो गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न विदेशी भूमिमा पुगेको समयमा समेत चिया र बिस्कुट खाएर मात्र गुजारा गर्नुपरेको अनुभव आफूसँग रहेको अग्रज खेलाडी बैकुण्ठ मानन्धरले बताए । आफ्नो ऊर्जावान समय राष्ट्रका लागि दौडिएरै बिताएको बताउँदै मानन्धरले राज्यबाट प्राप्त सेवा सुविधाले जीवन धान्न सक्ने अवस्था नरहेको बताए ।

खेलाडीहरुको गुनासो सुनिसकेपछि मन्त्री गहतराजले आफू निकै भावुक भएको बताउँदै नेपाली खेल क्षेत्रको समग्र विकासकालागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको उल्लेख गरे ।

समग्र नेपाली युवा तथा खेलाडीहरुको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री गहतराजले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको समेत बताए ।

साफमा उपविजेता हुन सफल नेपाली फुटबल टिमका खेलाडीहरुलाई आफ्नै पहलमा जनही ५ लाख पुरस्कारको व्यवस्था मिलाएको बताउँदै मन्त्री गहतराजले खेलाडीहरुको हौसला तथा क्षमता विकासमा मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता समेत जनाए ।

Share This:
सम्बन्धित खबर
Loading...