कानुनले दिएको दायित्व पूरा गरेर मात्र सेवाबाट बाहिरिन्छु : प्रधानन्यायाधीश जबरा

240

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधान र कानुनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने बताएका छन् ।

प्रधान्यायाधीश र न्यायाधीशहरुबीच मंगलबार भएको भेटमा उनले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताएका हुन् ।

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको छलफलपछि सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीशले भनेका कुरा उद्धृत गर्दै भने,“संविधान र कानुनबमोजिम नियुक्त भएको प्रधानन्यायाधीशले संवैधानिक दायित्व गर्नुपर्छ, म त्यो पूरा गर्न सक्षम छु । संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरेर म बाहिरिन्छु ।” प्रधानन्यायाधीश जबराले आफूले सेवाबाट बाहिरिनुपर्ने हो भने प्रश्न उठाइएका अरु न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि आफूले राजीनामा दिनेसमेत छलफलमा भनेका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । सर्वोच्च अदालतमा सोमबार र मंगलबार पेसी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...