काठमाडौँ । सर्वोच्च अदालतका ४ जना पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।
मन्त्रिपरिषद्मा समेत भागबन्डा खोजेको विषय सार्वजनिक भएपछि आलोचनाको केन्द्रमा रहेका प्रधानन्यायाधीश जबराको उनकै सहकर्मी न्यायाधीशलेसमेत राजीनामा माग गरेका छन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार अपरान्ह विज्ञप्ति निकालेर जबरालाई बहिर्गमनको बाटो लिन आग्रह गरेका हुन् ।
“प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायापालिकाको क्षति न्यूनिकरण गर्न सघाउन सकिन्छ भन्ने पनि हाम्रो विश्वास छ । विगतमा पनि विभिन्न अवसरमा मुद्दामा न्यायिक विचलन वा अस्वीकार्य गतिविधिको जनविश्वास गुमाएको भन्ने अवस्थामा सम्बन्धित न्यायाधीशहरुले नै गर्नुभएको स्वेच्छिक अवकासको निर्णयबाट विवादहरुको पटाक्षेप भएको अनुभव न्यायापालिकासँग छ,” पूर्वप्रधानन्यायाधीशहरुको विज्ञप्तिमा भनिएको छ,“न्यायाधीशले कुनै कारणले जनविश्वास गुमाउँछ भने न्यायका लागि बचाउनेका केही रहन्न भन्ने कुरा बुझ्न आवश्यक छ । न्यायापालिकाको सक्षम उपस्थित चुनौतीहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वर्थभन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्दछौँ ।”
उनीहरुले प्रधानन्यायाधीशको स्वनिर्णयले न्यायपालिकाको क्षति न्यूनिकरण गर्न सघाउन सकिन्छ भन्ने विश्वास पनि व्यक्त गरेका छन् । न्यायपालिकाले आफूभित्र देखा परेका समस्या आफ्नै सुझबुझ र विवेकबाट समाधान नगरेर विधायिकी क्षेत्रबाट हस्तक्षेप हुने पनि उनीहरुले बताएका छन् ।
प्रधानन्यायाधीशको कार्य सम्पादनस्तर, व्यवहार र चरित्रबारे सार्वजनिकस्तरमा भएका शंका र चिन्ताका कारण न्यायापालिकाको विश्वासनीयता र यसप्रतिको जनआस्था हल्लिएको चार पूर्वप्रधानन्यायाधीशहरुले बताएका छन् ।