काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता एमव् वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २/३ घन्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन् ।
काठमाडौँमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले भने,“उहाँले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रुपमा पनि यसले हित हुँदैन, उहाँ जति बस्नुहुन्छ उहाँलाई त्यति ठुलो क्षति हुन्छ । न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ । १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो । कमाण्डरमात्रै बाँकी भएको युद्ध कस्तो हुन्छ ? धेरै समय नलगाउनुहोस् अब २/३ घन्टाभित्रै राजीनामा दिनुपर्छ ।”
श्रेष्ठले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाअभियोग लगाउने संकेत गरे । “उहाँले राजीनामा दिनुभएन भने हामीसँग संविधान छ । उहाँको कमीकमजोरी रहे, संविधानअनुसार हुन्छ । प्रतिनिधिसभा छ, सांसद् छन् । जनताको लेभलमा यत्रो कुरा उठेको छ । अझै धेरै प्रश्न उठ्नेवाला छ । अहिले बाहिर बाहिरको कुरा आएको छ, भित्री कुरा प्रवेश गरेपछि अझै छताछुल्ल हुन्छ । धेरै घन्टा पनि नलगाउनुहोस् । तत्काल राजीनामा दिनुहोस्,” उनले भने ।
पूर्वमहान्यायाधिवक्ता श्रेष्टले न्यायालय आज बिग्रदो अस्थामा रहेको टिप्पणी गरे । उनले भने,“न्यायालय आजको ठाउँमा जो आइपुगेको छ, यो थोरै समयमा आएको होइन । हिजैदेखिको देन हो । न्यायाधीश नियुक्तिमै विवाद रहँदै आएको छ । प्रधानन्यायाधीश न्याय सम्पादनमा चुक्नुभयो, संविधानले परिकल्पना नगरेको विषयमा प्रवेश हुनुभयो । उहाँले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्ति गर्नुभयो, मन्त्री पनि बनाउनुभयो । न्यायालय स्वतन्त्र हुनुपर्छ । यसमा राजनीतिक गन्ध अउनु पनि हुन्न । हिजो राजाको पालामा न्यायालयमा त्यति अधिकार थिएन । तर, अहिले २०७२ को संविधानपछि न्यायालयलाई धेरै अधिकार छ । सरकार नै परिवर्तन गर्नसक्ने न्यायालय आज कुन ठाउँमा पुग्यो ?”
श्रेष्ठले अहिलेको प्रधानन्यायाधीशले पदको गरिमालाई कायम गर्न नसकेको पनि आरोप लगाए ।