सभ्य समाज निर्माणका लागि सकारात्मक सोच जरुरी : सञ्चारमन्त्री कार्की 

242

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने बाटोमा ध्यान दिन जरुरी रहेको बताएका छन् ।

विज्ञापन दिवसका अवसरमा विज्ञापन बोर्डले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले मुलुकमा दीगो राजनीतिक प्रणाली स्थापित भइसकेको भन्दै अब सबैले मुलुकलाई विकास र समृद्धिको दिशातर्फ उन्मुख गराउने बाटोमा ध्यान दिनुपर्ने बताएका हुन् ।

आचारसंहितको कुरा गरेर समाज अघि बढ्न नसक्ने भन्दै उनले सभ्य समाज निर्माणका लागि व्यवस्थित र सकारात्मक सोचको जरुरी रहेको धारणा राखे ।

त्यस्तै, उनले नेपाली सञ्चारमाध्यमको विज्ञापनलाई मर्यादित र भ्रमरहित बनाउनुपर्ने र उपभोक्तालाई सकारात्मक रुपमा सुसूचित गराउनुपर्ने बताए ।

सरल भाषा र प्रस्तुतिमा परिपक्वतासहित वस्तु वा सेवाको सही जानकारी गराउन उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण अर्थतन्त्रमा परेको पीडालाई न्यूनिकरण गर्नका लागि निजी व्यवसायी गम्भीर रहेको बताए । उनले कोरोनाका कारण विज्ञापन क्षेत्र पनि मर्कामा परेका कारण सरकारले आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

कार्यक्रममा सरोकारवालाहरुले नेपालको विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । विज्ञापन ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा विज्ञापन दिवस मनाइएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...