काठमाडौँ । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा मागेको छ । माओवादी केन्द्रबाट बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले बिहीबार बसेको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा माग गरेका हुन् ।
बैठकमा आफ्ना धारणा राख्दै उनले ४ दलीय गठबन्धनबीच सहमति बनिसकेकाले मुख्यमन्त्री शाक्यले अल्पमतमा परिसकेको अवस्थामा राजीनामा दिनु राम्रो हुने पनि बताए ।
उनले मुख्यमन्त्री शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा गठबन्धनलाई पेलेर अघि बढ्न खोजेको आरोप पनि लगाए । उनले गठबन्धनलाई सत्ताले सुकेको पात जस्तै ठानेको भन्दै आपत्ति प्रकट गरे । शाक्यले अल्पमतमा परेको अवस्थामा संसदबाट विश्वासको मत लिनुको अर्थ पनि नरहेको उनले बताए ।