काठमाडौँ । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । नेकपा (एमाले)को वडा र पालिका अधिवेशनको तयारीमा सांसद्हरु व्यस्त हुने भएकाले प्रदेशसभा बैठकमा आफ्ना सांसद् उपस्थित हुन नसक्ने एमालेले जनाएको छ ।
आजको बैठक कात्तिक ११ गतेका लागि सार्न माग गर्दै एमालेले बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रुपमा पत्रसमेत दर्ता गराइसकेको छ । एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको वडा र पालिका अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले प्रदेशसभा बैठक सार्न सभामुखसमक्ष लिखित आग्रह गरेका हुन् ।
आजका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थगित गर्नेबारे प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् ।
बागमती प्रदेशसभामा सत्तारुढ एमाले स्पष्ट अल्पमतमा परिसकेको छ । एमालेले बैठक रोकेर केहीदिन भएपनि सत्ता जोगाउन खोजेको आरोप विपक्षी दलले लगाएका छन् ।