काठमाडौँ । विभिन्न ८ बुँदे माग राख्दै दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले आन्दोलन सुरु गरेका छन् ।
संस्थानलाई नाफामा लान नसकेको, भ्रष्टाचारीलाई कारबाही नगरेको, कर्मचारीलाई दुःख दिने मनशायले सरुवा गरेकोलगायतमा माग राख्दै कर्मचारीहरुले केन्द्रीय कार्यालय लैनचौरमा आन्दोलन सुरु गरेका हुन् ।
उनीहरुले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।
उपपमहाप्रबन्धक अधिकारीले डिडिसीमा एक करोडभन्दा बढी रकम हिनामिना गरेको उनीहरुले आरोप लगाएका छन् । डिडिसी कर्मचारी संघका महासचिव एवं आन्दोलन परिचालन समितिका प्रवक्ता अयुव अलि खानले संस्थान सुधार र कर्मचारीको वृतिविकासका लागि आन्दोलन गर्नुपरेको बताए । यसअघि राखेको २० सुत्रीय मागमा प्रशासनले सहमति गरेपनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
कर्मचारीहरुले २०५७ सालभन्दा अगाडि स्थायी भएका सम्पूर्ण कर्मचारीलाई प्राविधिक ग्रेड दिन नसकेको बताएका छन् । त्यस्तै दुघ र दुघजन्य पदार्थको विक्रिवितरण समयानुकुल वृद्धि गर्न नसकेको उनीहरुको आरोप छ ।