काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरु राजनीतिक विषयमा केन्द्रित हुनुपरेको उल्लेख गरेकी छन् । तर, आउँदो दिनमा रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्दामा केन्द्रित हुने उनले बताइन् ।
बिहीबार पत्रकारसँग कुरा गर्दै उनले भनिन्, “विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्छ । तर, अहिले विद्यार्थी आन्दोलन पार्टीको एजेन्डामात्रै बोक्ने आन्दोलन बनेको छ । यो कुरा हामीले गम्भीर अनुभूति गरेका छौँ । विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौँ । स्वभावैले पार्टी पनि संकटको अवस्थामा थियो । जटिल अवस्थामा हुँदा पार्टीलाई कहीँ न कहीँ बोक्नुपर्ने हुन्छ, त्यो बोक्यौँ पनि तर आजका दिनमा परिस्थिति बदलिएको छ । हामी समाजसँग जोडिएर समाजका जल्दाबल्दा विषयहरुलाई हाम्रो सरोकारका विषय पनि बनाएर लैजान्छौँ र यसलाई रचनात्मक बनाउने गरी बढी नै मेहनत गर्छौँ ।”
अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको उनले बताइन् । उनले अखिल (क्रान्तिकारी) को विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइन् ।