सीता भण्डारी मृत्यु प्रकरण : श्रीमान्‌सहित ३ जना पुर्पक्षका लागि थुनामा

312

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको मृत्यु घटनामा जोडिएका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

बुधबार जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासमा भएको बहसपछि थुनछेक आदेशबाट सीताका पति टीका पौडेल, जेठाजु हरि पौडेल र आमाजू विष्णु पौडेललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

भदौ २० गते बिहान आफ्नै कोठामा मृत भेटिएकी २७ वर्षीया भण्डारीको माइती पक्षले आत्महत्या नभइ हत्या भएको दाबी गर्दै जाहेरी दिएका थिए ।

पोष्टमार्टम रिपोर्टमा सीताले झुन्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या भएको दाबी गर्दै आन्दोलन गरिरहेका छन् । मृत्यु भएको एक महिना नाघ्दा पनि उनीहरुले शव उठाउन दिएका छैनन् ।

माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन खोजे पनि प्रहरीले किटानी जाहेरी नलिइ आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरूत्साहनमा मुद्दा दर्ता गरेको थियो । लगत्तै आरोपित श्रीमान् टीका पौडेल, जेठाजु हरि पौडेल र आमाजू विष्णु पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेतको सहयोगमा भएको अनुसन्धानमा सीताले सुसाइड नोट लेखेर आत्महत्या गरेको फेला परेको थियो । तर, सीताले लेखेको उक्त सुसाइड नोटमा कसैको नाम उल्लेख थिएन । माइती पक्षले उक्त सुसाइट नोट ‘बनावटी’ भन्दै अनुसन्धान प्रतिवेदन अस्वीकार गरेको छ ।

घटनाको अनुसन्धान अझै बाँकी रहेकाले अर्को सुनुवाइ नहुँदासम्म कम्तिमा डेढ÷दुई महिना तीनै जना आरोपीहरु कारागारमा रहने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।

सीताको दुई वर्षअघि ४३ वर्षीय टीका पौडेलसँग विवाह भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...