काठमाडौँ । सरकारले विद्युतीय राहदानीमा थप हुने सुरक्षा विशेषतालाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसको मन्त्रिपरिषद् बैठकले विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषता (सेक्युरिटिज् फिचर्स)लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै, बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।
नेपाल प्रशासन सेवातर्फ राजपत्राङ्कित विशिष्ठ श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने र वैदेशिक रोजगार न्यधिकरणको रिक्त सदस्य पदमा सहन्यायधिवक्ता डा.गोपिचन्द्र भट्टलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै, बैठकले ऋण असुलिकरणको कानुन सदस्य पदमा उपसचिव विष्णु रेग्मीलाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।
मन्त्रिपरिषद् बैठकले असोज २४ गतेदेखि सुरु हुने असंलग्न आन्दोलनसम्बन्धी बैठकमा सहभागी हुने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको गठन गरेको छ ।