साफ च्याम्पियनसिप : नेपाल शीर्ष स्थानमा, श्रीलंका ३–२ ले पराजित

317

काठमाडौँ । युवा खेलाडीको गोल प्रेरित नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेका हो ।

जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ६ अंक जोडेको हो । नेपालको लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले १–१ गोल गरे ।

नेपालका मिडफिल्डर सुमनले खेलमा अग्रता दिलाएका थिए । श्रीलंकाविरुद्ध नेपालको अट्याक लाइन सम्हालेका सुमनले खेलको ३१औँ मिनेटमा गोल गरेका हुन् । सुमनले नवयुग श्रेष्ठको पास सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट उत्कृष्ट गोल गरेका थिए ।

नेपालको लागि दोस्रो गोल अञ्जनले गरे । अञ्जनले खेलको ५१औँ मिनेटमा रिबाउण्ड बललाई जाली चुमाए । तेज तामाङले राइट विंगर आयुष घलानलाई बल उपलब्ध गराएका थिए । आयुषले सिक्स र्‍याड बक्सबाट नवयुगलाई उत्कृष्ट पास उपलब्ध गराए । नवयुगको प्रहार श्रीलंकाका गोलरक्षक सुजन परेराले पञ्च गरेको बललाई रिबाउण्डमा अञ्जनले खाली पोष्टमा गोल गरेका हुन् ।

नेपालका लागि तेस्रो अग्रता आयुषले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुषले खेलको ८६औँ मिनेटमा ३–१ को अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीका लागि आयुषको यो पहिलो आधिकारीक गोल हो । यसअघि उनले ओमानविरुद्ध गोल गरेपनि सो खेल आधिकारिक थिएन ।

श्रीलंकाका लागि मार्बिन हामीटनले ५७औँ मिनेटमा पहिलो गोल फर्काए । डिबक्स बाहिरबाट मार्बिनले गरेको लामो प्रहार क्रसबारमा लाग्दै जाली चुमेको थियो । दोस्रो गोल श्रीलंकाले पेनाल्टीमा गर्‍यो । ९०औँ मिनेटपछि थपिएको पाँच मिनेटमा श्रीलंकाका डिलोन डी सिल्भाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै दोस्रो गोल गरेका थिए । यद्यपि टोलीको हारलाई भने टार्न सकेनन् ।

यसअघि खेलको ५६औँ मिनेटमा नेपालले गोलको संकट टारेको थियो । श्रीलंकन खेलाडीले प्रहार गरेको बल लेफ्ट ब्याक सुमन अर्यालले गोल लाइनबाट बचाएका थिए ।

नेपालले खेलको ६७औँ मिनेटमा सुन्दर मौका चुकायो । यस पटक वैकल्पिक खेलाडीद्वय सन्तोष तामाङ र आयुष घलान लगातार गोल गर्नबाट चुके । मनिष डांगीले काउन्टरमा मिलाएको पासलाई सन्तोषले डिबक्सबाहिरबाट पोष्टको दिशा दिन सकेनन् ।

सन्तोषको वान भर्षेष वानलाई श्रीलंकन गोलरक्षक सुजन परेराले बचाएका थिए । लगत्तै आयुषको प्रहार समेत गोलरक्षक परेराले बचाएका थिए ।

खेलको ७४औँ मिनेटमा मनिष पुनः वान भर्षेष वानमा चुके । मनिषको प्रहार सिक्स यार्ड बक्सबाट गोलरक्षक परेराले बचाएका थिए ।

श्रीलंकाविरुद्ध सुरुवातमै नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहेलो कार्ड पाएका थिए । फोर्थ अफिसियललाई अभद्र व्यवहार गरेपछि अब्दुल्लाहलाई पँहेलो कार्ड देखाइएको थियो ।

जितसँगै नेपाल २ खेलबाट ६ अंक सहित शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक बनाएको बंगलादेश दोस्रो स्थानमा छ । १ खेलबाट १ अंक जोडेको भारत तेस्रो स्थानमा छ । बिना कुनै अंक आयोजक माल्दिभ्स चौथो स्थानमा रहँदा २ खेलबाट बिना अंक श्रीलंका पुछारमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...