साफ च्याम्पियनसिप : मनिषको गोलमा नेपालको ऐतिहासिक जित

234

काठमाडौँ । युवा खेलाडी मनिष डांगीको निर्णायक गोलमा नेपालले साफ च्याम्पियनसिपमा सुखद् सुरुवात गरेको छ ।

शुक्रबार माल्दिभ्सको मालेमा भएको साफको दोस्रो खेलमा नेपालले आयोजक टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरे । नेपाल यू–१९ टोलीका सदस्यसमेत रहेका मनिषले खेलको ८५ मिनेटमा गोल गरेका हुन् । जुन गोल काउन्टरमा सम्भव भएको थियो । यसअघि मनिष स्ट्राइकर नवयुग श्रेष्ठको स्थान दोस्रो हाफमा मैदान प्रवेश गरेको थिए ।

राष्ट्रिय टोलीको लागि यो मनिषको दोस्रो गोल हो । यसअघि उनले पहिलो गोल इराकविरुद्ध गरेका थिए । जुन खेल उनको डेब्युसमेत थियो ।

यससँगै नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध पहिलो जित निकालेको छ ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग भने गर्न सकेनन् । खेलमा नेपालको तुलनामा घरेलु टोली माल्दिभ्सले दबाब बनाएको थियो ।

जितसँगै नेपालले सिंगल राउन्ड रोबिनको लिगमा महत्वपूर्ण तीन अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेलमा १८ असोजमा श्रीलंकाको सामना गर्ने छ ।

आज नै भएको पहिलो खेलमा श्रीलंका बंगलोदशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...