प्रदेश २ को प्रदेशसभा आह्वान, २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

283

काठमाडौँ । प्रदेश नम्बर २ मा प्रदेशसभाको अधिवेशन असोज २० गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभालाई प्रभावकारी बनाउनुपर्नेमा सदन छल्दै आफ्नो आयु लम्ब्याउने दाउमा लागेको आरोप लाग्न थालेपछि मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरेका हुन् ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको ३० दिनभन्दा बढी भएको छ ।

संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहकाअनुसार मन्त्रिपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन् ।

हाल प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनको सरकार छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ ।

सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा (एमाले) रहेका छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने जनाइसकेको छ ।

१०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना प्रदेश सांसद् छन् । जसपाका ३९, कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, एमाले र माओवादी केन्द्रका ८–८ जना सांसद् छन् । यस्तै, नेपाल संघीय समाजवादी पार्टीका एकजान सांसद् छन् ।

Share This:
सम्बन्धित खबर
Loading...