त्रिभुवन विमानस्थलबाट ७५० ग्राम सुनसहित १५ जना पक्राउ
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७५० ग्राम सुनसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिंगापुर र मलेसियाबाट आएका १५ जना यात्रुबाट सो परिणामको सुन बरामद गरेको हो ।
प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद गरेको छ । भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मलेसियाबाट काठमाडौँ आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गर्न लागेको सूचनाका आधारमा प्रहरीले शंकास्पद यात्रुमाथि निगरानी गरेको थियो । त्रिवि सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको विभिन्न स्थानबाट आइतबार शंकास्पद १५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले उक्त सुन आफ्नो नभएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीसँगको बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौँसम्म पुर्याइदिन भनेको र सोहीअनुसार आफूहरुले काम गरेका बताएका छन् ।
विमानस्थलमा सम्बन्धित व्यक्ति बुझ्न आउने भनेपछि आफूहरुले सुन ल्याइदिन तयार रहेको उनीहरुको भनाइ छ । मलेसिया र सिंगापुरमा सुन दिन व्यक्तिहरु आफूहरुले नचिनेको समेत उनीहरुले दाबी गरेका छन् ।
सुनसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।