काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या हुँदा विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज सोमबार बिहान काठमाडौँ फर्काएर दुई घन्टा आकाशमा होल्ड गरेपछि सुरक्षित अवतरण भयो ।
बुद्ध एयरले विराटनगरमै जहाजको ल्यान्डिङ गियर खुले पनि सुरक्षाका लागि काठमाडौँमा ल्याएर अवतरण गर्नुपरेको जनाएको छ ।
बुद्ध एयरले विज्ञप्तिमार्फत भनेको छ,“जहाजको ल्यान्डिङ गियरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जसअनुसार प्राइमरी इन्डिकेटरमा संकेत नदेखिएको तर सकेन्डरी इन्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । यसरी सेकेण्डरी इन्डिकेटरमा रातो बत्ती बलेको अवस्थामा पनि ल्यान्डिङ गियर खुलेकै मानिन्छ । सुरक्षामा शून्य सहनशीलताअनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौँ फर्काउने निर्णय गरे ।”
काठमाडौँको आकाशमा जहाज आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमले रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा सही र झरेको अवस्थामा पाइएपछि सुरक्षित साथ जहाजलाई नर्मल अवतरण गराइएको बुद्ध एयरले जनाएको छ ।
जहाजलाई सुरक्षित अवतरण गराउन विमानस्थलमा दमकल, एम्बुलेन्स, उद्धारकर्ताको उपस्थितिलगायत विभिन्न तयारी गरिएको थियो । जहाजको ल्यान्डिङ गियर नखुलेको अवस्थामा आकाशमै घुमाएर इन्धन सक्ने र धावनमार्गमा फम बिच्छाएर अवतरणको तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जहाज सकुशल अवतरण भएपछि पाइलट, यात्रु बुद्ध एयरका कर्मचारीलगायत सबैले खुसी व्यक्त गरेका छन् ।