दुध पुर्‍याउन हिँडेकी युवती मृत फेला

328

ताप्लेजुङ । ताप्लेजुङमा दुध पुर्‍याउन हिँडेकी १८ वर्षीया युवती मृत भेटिएकी छन् । भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवती मृत भेटिएकी हुन् । फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भइ फुङलिङ नगरपालिका–६ बिहीबारे बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान मृत भेटिएकी हुन् ।

दुध पुर्‍याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै गरेका स्थानीयले युवती भिरमा लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवकाअनुसार उनको शव फुङलिङ नगरपालिका–७ दोखु सिरानको भिरको फेदमा थियो ।

“करिब १०० मिटरमाथि अग्लो पहरो भएको ठाउँबाट तल झरेको देखिएको छ,” प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले भने,“उनको ज्याकेट पहरोमा अड्किएको र घटनास्थलमा मेटासिटको बोतल भेटिएको छ ।”

मेटासिटको गन्ध आएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले ज्याकेट र बोतल बरामद गरेको हो । झरेको ठाउँ कतै माडिएको अवस्थामा पनि भेटिएको प्रहरीले जनाएको छ ।

शरीरभरि चोटपटक रहेको उनी बिहीबार राति १२ बजेसम्म घरमै रहेको परिवारले बताएको छ । दिदीहरुसँगै बस्दै आएकी उनको आत्महत्या हो या कर्तव्य भन्ने विषयमा अनुसन्धान भइरहेको यादवले बताए ।

“अब पोस्टमार्टम रिपोर्ट पनि आउँछ र हामी कल डिटेल पनि हेर्छौँ,” यादवले भने,“तीन÷चार दिनमा विस्तृत विवरण प्राप्त हुन्छ ।” उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...