अन्तरिक्षमा ९० दिन बिताएर फर्किए तीन चिनियाँ यात्री

349

काठमाडौँ । अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किएका छन् । चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् ।

उनीहरु पृथ्वीभन्दा ३८० किलोमिटरमाथि रहेको चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर फर्किएका हुन् ।

चिनियाँ अन्तरिक्षथात्रीहरु न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हाङ्बो बिहीबार शञ्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका हुन् । यी तीन चिनियाँ अन्तरिक्षयात्रीले आज स्थानीय समयअनुसार दिउँसो १ः३५ बजे भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेको थिए । त्यही ठाउँबाट गएको जुन १७ मा उनीहरुको अन्तरिक्षयान उडेको थियो ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखिने बीबीसीमा उल्लेख छ । अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घन्टौँसम्म अन्तरिक्षमा हिँड्ने गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरु बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ ।

सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो । पृथ्वीबाट नदेखिने त्यो भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलोपटक थियो ।

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठुलो फड्को मारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...