काठमाडौँ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।
बिहीबार एमालेको काठमाडौँ जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँच र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताए । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दाबी गरे ।
उनले पार्टीबाट केही पित्तलहरु झरेर गएको र केही काँचका टुक्राहरु फुटेर गएको बताए ।
“हरेक पहेँलो धातुहरु सुन हुँदैन । हरेक चम्किला सिसाहरु हिरा हुँदैनन् । हिरा हो कि सिसा हो भनेर छुट्याउने क्षमता तपाईंहरुमा हुनुपर्छ । एमाले काँचको टुक्राहरुको पार्टी होइन । हिराहरुको पार्टी हो । हिरा र सिसा छुट्याउने आँट तपाईंहरुसँग हुनुपर्छ,” उनले भने ।