नेतृत्वको सत्ता लिप्साले पार्टीको महाधिवेशन अनिश्चित बन्यो : पौडेल

266

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन अन्तर्गत भएका क्रियाकलापहरुमा संस्थापन पक्षबाट दादागिरी भइरहेको बताएका छन् । उनले कतिपय स्थानमा वडा अधिवेशनमा धाँधली र षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले काठमाडौँमा गरेको ‘नीति र नेतृत्व’ विषयक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा भएको वडा अधिवेशन नमान्ने बताए ।

पौडेलले नेताको सत्ता लिप्साका कारण कांग्रेस महाधिवेशन अनिश्चित बनेको आरोप लगाए । “आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,” उनले भने,“यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।”

उनले नेतृत्वमा पुगेकैबाट लोकतन्त्रको हत्या भएको बताए । शक्तिको दुरुपयोग गरी समाजलाई हिँडाउन खोजिएको पौडेलको आरोप छ । “कार्यकर्ताले नेताको मूल्याङ्कन गर्न सकेनन् भने उपद्रो नेताको सामना गर्नुपर्छ । विधि विधान लत्याएर स्वेच्छाचारिता पार्टीमा छ । कसको कारणले पार्टी यो अवस्थामा पुग्यो ? नेताको महत्वकांक्षाले यस्तो भएको छ । पार्टीको संस्कार बचाउने लडाइँ लड्नु परेको छ । लोकतन्त्रमा नेताबाटै खतरा छ । कमजोर पार्टीको बलियो नेता तानाशाह हुन्छ,” पौडेलले भने ।

क्रियाशील सदस्यता वितरणमा दादागिरी भएको बताउँदै वरिष्ठ नेता पौडेलले सभापति देउवाले प्रहरी प्रशासन लगाएर अधिवेशन गरेको आरोप लगाए । उनले आफूहरु पार्टीलाई लोकतान्त्रिक बनाउन लागि परेकाले वडा अधिवेशनलाई मान्यता नदिने बताए ।

“पार्टी जिल्ला कमिटीलाई एकातिर लगाएर पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरिएको छ,” उनले भने,“त्यो हामी मन्दैनौँ ।”

संस्थापन इतर पक्षको विरोध हुँदाहुँदै देउवाको गृहजिल्ला डडेलधुराको वडा अधिवेशन भदौ २५ गते भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...