हत्या आरोपीको बयान- ‘तेबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ’

426

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा गत सोमबार एकै परिवारका ६ जानको हत्या आरोपमा प्रहरीले तेजबहादुर कार्की परिवारकै छिमेकी एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने युवक नातमा भजित हुन् । प्रहरीका अनुसार युवकको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएको छ । पारिवारिक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । “हत्या गर्ने व्यक्तिलाई पक्राउ गरिसकेका छौँ,” प्रहरीले भने । सङ्खुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान ५ बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए ।

तर, जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका युवकले बाटोमै उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी युवकको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर, बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार युवकले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् । कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

“उनले हत्या गरेको स्वीकार गरिसकेका छन्,” प्रहरीका एक अधिकारीले भने, “ऋण माग्दा आफन्त भए पनि पैसाको ब्याज लिन्थे । पागल भनेर जिस्काउँथे त्यसैले चिर्पटले हारेर मारेँ भनेर स्वीकार गरिसकेका छन् ।” प्रहरीका अनुसार युवक डिप्रेसनको औषधि खाइरहेका थिए । एक वर्षअघि उनकै घरमा युवककी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।

“आमाको मृत्यु पछाडि तेजबहादुरकै षड्यन्त्र भएको युवकको बुझाइ रहेछ,” एक अनुसन्धान अधिकृतले भने,“त्यही रिसले हत्या गरेछन् ।”

गत सोमबार ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...