काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठुलो दल बनेको छ । सोमबार नेकपा (एमाले)की प्रदेशसभा सदस्य माया तामाङ बोहराले एकीकृत समाजवादीमा सनाखत गरेपछि सुदूरपश्चिम प्रदेशसभामा उक्त दलका प्रदेशसभा सदस्यहरुको संख्या १४ पुगेको छ ।
एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले सोमबार थप एक सांसद्ले पार्टीका पक्षमा सनाखत गरेको जानकारी दिइन् ।
अब सुदूरपश्चिममा एमालेको सभामुखसहित ११ मात्रै भएको छ ।
एमालेको प्रमुख सचेतक रहेका सांसद् तारा लामा तामाङ, भौतिक योजनामन्त्रीसमेत रहेका दीर्घ सोडारी र पूर्ववनराज्यमन्त्री प्रकाश रावलले समाजवादी रोजेका हुन् ।
यस्तै एकीकृत समाजवादीमा सनाखत गर्नेहरूमा मन्त्री पूर्णा जोशीसहित सुनकुमारी चौधरी, मनाकुमारी साउद, कुलबीर चौधरी, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, अमर साउद, दुर्गा विक, माया भट्ट र लालबहादुर खड्का छन् ।