काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदै गएको बताएकी छन् ।
औधोगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उनले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको उनले बताइन् ।
निजामति कर्मचारी दिवसको सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थिति इन्दायणी पार्कमा आज वृक्षरोपण गरेपछि मन्त्री भुसालले भनिन्,“विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।”
औधोगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको बताउँदै मन्त्री भुसालले भनिन्,“देशका विभिन्न भागमा भू–क्षयको मार खेप्नुपरेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।”
सिन्धुपाल्चोकको हेलम्बुमा गएको भू–क्षयका कारण ठुलो जनधनको क्षति हुनका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौँ उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउँदै मन्त्री भुसालले भनिन्,“भू–क्षयपछि आएको बाढी र त्यसले पुर्याएको क्षतिका कारण मानवीय एवम् भौतिक क्षति बेहोर्नुपरेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठुलो असर पुर्याएको छ ।”
आफूले मतदान गर्ने महानगरेको वडा नम्बर २ मा वृक्षरोपण गर्न पाउँदा खुसी लागेको बताउँदै उनले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडा अध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गरिन् ।
उनले वृक्षरोपण गरिएका बिरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षरोपण गरी आफ्ना बस्तीलाई वातावरणमैत्री बनाउन आग्रहसमेत गरिन् ।